अबदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमितको निःशुल्क उपचार अबदेखि सरकारी अस्पतालहरू र स्वास्थ्य प्रतिष्ठानहरूमा मात्रै गरिने बताएको हो।
कोभिड–१९ को उपचारका लागि यसअघि सेवा सम्झौता गरिएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना रकम उपलब्ध गराउने र भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना उपलब्ध नगराइने मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ।
साथै निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन समेत आग्रह गरेको छ। यदि मनमोनी ढंगले शुल्क लिएमा नियमानुसार कारबाही गरिने विज्ञप्तिमा लेखिएकाे छ।
कोभिड संक्रमितको निःशुल्क उपचारको लागि सरकारले यसअघि विभिन्न निजी अस्पतालहरुसँग सम्झौता गरेकाे थियो।
