कोभिड १९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा आज ६ वटा आइसियु बेड थपिएको छ। यो सँगै अस्पतालमा १५ वटा आइसियु बेड पुगेको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।
प्राडा. गौतमका अनुसार अस्पतालमा छिट्टै १०० वटा आइसियु बेड पुर्याउने कार्य भइरहेको छ। उनी भन्छन्, ‘अस्पतालमा आम मानिसलाई महशुस हुनेगरी स्तरोन्नती गरिने र त्यसको सुरुवात भइसकेको छ। वीर अस्पतालमा बिरामीको अत्याधिक चाप रहने हुँदा माग अनुसार आइसियु बेड थपेर अस्पतालकाे स्तराेन्ति गर्ने याेजनाएको छ।’ यस्तै अहिले अस्पतालमा १८० जना भन्दाबढी सङ्क्रमितलाई भर्ना गरी अक्सिजन जडानका साथ उपचार गर्न थालिएको उनले बताए।
सरकारले वीर अस्पतालको ५०० शय्याको नयाँ सर्जिकल भवनमा नै युनिफाइड अस्पताल सञ्चालन गरेको हो। अहिले अस्पतालमा तरल अक्सिजन र सिलिन्डर अक्सिजनको व्यवस्था गरिएको र पछि अस्पतालमै दुईवटा अक्सिजन प्लान्ट र एउटा तरल अक्सिजन प्लान्ट जडान गरिने प्राडा. गौतमले जानकारी दिए।