नेपालमा पछिल्लो २४ घण्टामा थप छ हजार ८ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। आज १८ हजार ५ सय ६२ पिसिआर र तीन हजार २ सय ११ एन्टीजेन गरी कूल २१ हजार ७ सय ७३ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यस्तै विगत २४ घण्टामा पाँच हजार ९०४ जना निको भएका छन्। नेपाली सेनाद्वार विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कूल मृत्यु हुनेको सङ्ख्यामा सात हजार ६३० जना पुगेको छ।
मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ७६ हजार ९ सय ३६ जना कोरोना सङ्क्रमित हुँदा चार लाख ६७ हजार ४ सय ६७ जना निको भएका छन्। पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर १.६ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३ सय ८२ रहेको छ। यस्तै निको भएकाको सङ्ख्या एक लाख ७५ हजार ८ सय ५२ रहँदा एक हजार ६ सय ५३ जनाले ज्यान गुमाएका छन्। भक्तपुरमा कूल सक्रिया सङ्क्रमित चार हजार १ सय ७४ छन् भने निको भएका १५ हजार ९ सय ३१ छन्। यस्तै कोरोनाका कारण सो जिल्लामा ३ सय २९ जनाको ज्यान गएको छ।
उता ललितपुरमा सक्रिय सङ्क्रमित छ हजार ४० छन्। कूल २७ हजार ७ सय २४ जना निको हुँदा ४५५ जनाको निधन भएको छ। पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दरमा कमी आइरहेको समेत पछिल्लो विवरणले देखाएको छ।