कोरोनाभाइरसबारे नेपालको सम्बन्धमा डेली मेल अखबारको दावीलाई स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ। डेलीमेल अखबारमा ‘नेपाली प्रजाति’ बेलायतसहितका युरोपेली मुलुकमा फैलिएको त्यसका कारण बिदा प्रभावित भएको समाचार प्रकाशित थियो।
नेपाली सञ्चारमाध्यमसँग स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले नेपालमा अल्फा (युके भेरिएन्ट) र डेल्टा (भारतीय भेरिएन्ट)बाहेक अर्को भेरिएन्ट भेटिएको पुष्टि नभएको बताए। उनले डेली मेलको समाचारमा सत्यता नभएको स्पष्ट पारे।
यसबारेमा बेलायतको स्वास्थ्य नियामक निकाय (आइएचआर)लाई पत्र लेखिएको प्रवक्ता पौडेलले जानकारी दिए। ‘जवाफको प्रतीक्षा गरिरहेका छौं’ उनले भने।
उक्त अखबारको विवरणलाई विश्व स्वास्थ्य संगठनले समेत खण्डन गर्दै नेपालमा अल्फा (युके भेरिएन्ट) र डेल्टा (भारतीय भेरिएन्ट)बाहेक अर्को भेरिएन्ट भेटिएको पुष्टि नभएको बताए। नेपालका जनस्वास्थ्य अधिकारीले पनि नेपाल भेरियन्टबारे अनबिज्ञता जनाउंदै दोस्रो लहरका बेला देखिएको भाइरस भारतीय भेरियन्टको भएको बताइरहेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि आफ्नो ट्वीटर मार्फत नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ। ट्वीटरमा लेखिएकाे छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन।’ हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ। तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो।