भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरुमाथी भएको कुटपिट र अमानविय व्यवहारको अहिले चौतर्फि निन्दा भइरहेको छ। अस्पतालमा तोडफोड र नर्समाथि हातपात भएपछी अस्पतालका स्वास्थ्य कर्मचारीहरू आन्दोलीत बनेका छन्। देशका शिर्ष नेताहरुले घटनाको घोर भत्सर्ना गरिरहेका छन्।
के भएको थियो ?
दाङ तुलसीपुर उपमहानरपालिका–११ उरहरीनिवासी ५४ वर्षीय डिल्लीबहादुर रावत कोरोना संक्रमित भएका थिए। स्वास्थ्यअवस्था बिग्रदै गएपछी उनलाई भेरी अस्पताल भर्ना गरियो। त्यहाँ उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
पहिले देखी नै स्वास्थ्य अवस्था नाजुक रहेका डिल्लीरामको मृत्यु भयो। मृत्युपछी अस्पताल पुगेका डिल्लीबहादुरका आफन्त पर्ने मान बहादुर रावतले अस्पतालका कर्मचारीहरुलाई थर्काए।
‘हामीलाई नसोधी किन भेन्टिलेटरमा राखेको’ भन्दै निहुँ खोज्न थाले।
बिवाद चर्कदै गएपछी मानबहादुरको समूहले अस्पतालमा तोडफोड गर्यो। चिकित्सक तथा नर्सहरूमाथि हातपात पनि गर्यो। नर्सहरूका अनुसार उनीहरूले नर्सका घाँटीसम्म थिचेका थिए। उनीहरुको आक्रमणबाट बच्न केही स्वास्थ्यकर्मीहरूले एकतला माथिबाट हाम्फालेका थिए।
मानबहादुर रावत एमालेका कार्यकर्ता हुन्। उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन्।