प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएको छ। सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको बैठकमा नेपाली कांग्रेसले भाग नलिने जानकारी दिएका हुन्।
‘नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री ओलीले बहुमतको आधारमा सिफारिसको निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याएपछि विरोध हुँदै आएको छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ।