पर्सा जिल्लामा बैशाख १६ गते बिहान ४ बजेदेखी २२ गते राती १२ बजे सम्मकालागि निषेधज्ञा गर्न सिफारिश भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को १४ गते बसेको बैठकले यस्तो सिफारिश गरेको हो।
पर्सा जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै डिसिसिएमसीको मंगलवार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो। संक्रमितका साथै मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दो क्रममा छ।
संक्रमणको दर उच्च रहेको पर्सामा कोरोना नियन्त्रण, संक्रमितको उपचार तथा व्यवस्थापन लगायतका कार्यहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा डिसिसिएमसीको बैठक केन्द्रित थियो। नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्डभित्र रही कोरोना संक्रमितको उपचार गर्ने ब्यवस्था मिलाउन समेत (डिसिसिएमसी)ले अनुरोध गरेको छ।
तत्कालका लागि २ सय शैय्याको कोभिड संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने (डिसिसिएमसी)ले निर्णय गरेको छ। बैठकले बिदेशबाट आएका नागरिकलाई कम्तिमा १० दन सम्म आइसोलेशनमा राख्ने कुराको ब्यवस्थापन गर्न स्थानीय तहलाई अपिल गरेको छ। ठाकुरराम बहुमुखी क्याम्पसलाई होल्डीङ सेन्टर स्थापना गर्ने र त्यसलाई नेपाली सेनाको निगरानीमा संचालन गर्ने निर्णय भएको छ।