डा. शंकरप्रसाद उप्रेतीको निधन भएको छ। ५० वर्षसम्म झापाका ग्रामीण भेगमा बसेर विपन्न नागरिकको सेवा गरेको डा. उप्रेतीको शनिबार राति ११ बजे निधन भएको हो।
साहित्यकार कृष्ण धराबासीका अनुसार आइतबार बिहान ८ः३० बजे पशुपति आर्यधाटमा उप्रेतीको दाहसंस्कार गरिने छ।
‘डा. सञ्जीव उप्रेतीलाई पितृशोक। फेरि एउटा जीवन इतिहासको पानामा पुगेर टाँसियो। परम श्रद्धेय डा. शंकरप्रसाद उप्रेती अब भौतिक शरीरमा रहनु भएन। हिजो राति ११ बजे उहाँको निधन भएको छ। आज बिहान ८ः३० वजे पशुपति आर्यधाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेकाले सबै आफन्त शुभचिन्तकहरूमा अनुरोध गर्दछु,’ साहित्यकार धराबासीले लेखेका छन्।
नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्व सांसद डा. उप्रेती वि.सं. २०४६ सालको परिवर्तनपछि ६ वर्षसम्म राष्ट्रियसभाका सदस्यका रुपमा रहेका थिए।
उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक–पटक जेलनेल भोग्नेका थिए। नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा वि.सं. २०१८ सालमा कैलालीको धनगढीबाट सेवा शुरु गरेका हुन्।
पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० वर्षको अवधिमा लाखौं जनाको उपचार गरेका उप्रेती आर्थिक रुपले सामान्य स्थितिमा रहेका जो कोही नागरिकलाई पनि निःशुल्क उपचार गर्थे। त्यसैले उनलाई डाक्टर बा भनेर सम्बोधन गरिन्थ्यो।