नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन भएको छ। कांग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव दाहालको आज बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो।
वि.सं. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर–४ मा जन्मिएका दाहाल वि.सं. २०७४ सालमा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा ओखलढुंगा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिए।
दाहालले नेपाली कांग्रेसले सञ्चालन गरेको वि.सं. २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेका थिए।
दाहाल राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आएको थिए।
दाहालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन्।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै देउवाले आत्माको चिर शान्तिको कामनाका साथै उनका शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।