नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताएका छन्। उनले आज अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा राजदूत शाहले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिए। उनले भने, ‘नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्ययनपछि के सहयोग गर्न सकिन्छ, हामी गर्छौ।’ आँखा उपचार जस्तो महत्वपूर्ण सेवा अस्पतालले उपलब्ध गराउँदै आएकोमा उनले प्रशंसासमेत गरे।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, जिल्ला सभापति कृष्णराज धरेल, अस्पतालका प्रमुख मेडिकल निर्देशक प्रा डा रघुनन्दन बेन्जु, अस्पतालका व्यवस्थापक दयाशंकर चौधरीलगायतले अस्पतालले हालसम्म गरेका कार्य र आगामी दिनका योजनाबारे बोलेका थिए।
सो अवसरमा अस्पतालका डा रञ्जित साहले अस्पतालको अवस्थाका बारेमा प्रस्तुतिकरण दिएका थिए। राजदूत शाहले अस्पतालका विभिन्न विभागको निरीक्षणसमेत गरेका थिए। पाकिस्तानमा मुख्य कार्यालय रहेको बिसिसिआई बैंकले भरतपुर आँखा अस्पततालको स्थापनाको समयमा मुख्य भवन निर्माण निर्माण गर्न तत्कालीन समयमा ८४ लाख रुपैयाँ सहयोग गरेको थियो।
विभिन्न समयमा उपकरणसमेत सहयोग गर्दै आएको छ। पाकिस्तानी दूतावासले अस्पताललाई प्रत्येक वर्षजसो आर्थिक सहयोग गर्दै आएको छ। अस्पतालको शल्यक्र्रिया थिएटर बनाउन दूतावासले ७२ लाख रुपैयाँ सहयोग दिएको छ। उक्त रकम सुरक्षित रहेको अस्पतालका अध्यक्ष धरेलले जानकारी दिए। यस्तै चम्मा पसल निर्माण गर्न ३६ लाख र फेको मेसिनलगायतका उपकरण पनि दूतावासबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए।
उनका अनुसार हालसम्म विभिन्न समयमा गरेर पाकिस्तानी दूतावासबाट दुई करोड रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भइसकेको छ। अस्पतालले आर्थिक वर्ष सन् २०१८/१९ मा दुई लाख सात हजार ६७६ जनालाई सेवा दिएको थियो भने सन् २०१९र२०२० मा एक लाख ६३ हजार १४८ बिरामीलाई सेवा दिएको छ। अस्पतालले अस्पताल, अस्पतालद्वारा सञ्चालित आँखा सेवा केन्द्र र विभिन्न ठाउँमा शिविर सञ्चालनन गरी आँखाको उपचार गर्दै आएको छ।