नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ। सोमबार राति पोखरामा केसीको निधन भएको हो।
मधुमेह र उच्च रक्तचापको समस्या रहेका प्रतिष्ठित उद्योगी केसीको ६३ वर्षको उमेरमा निधन भएको हो। दक्षिण एसियामा चाउचाउ उत्पादन शुरु गरेको श्रेय केसीलाई जान्छ।
हिमश्री फुड्स प्रालिका सञ्चालक दक्षिण एशियामै पहिलोपटक पोखरामा ‘रारा’ चाउचाउ उत्पादन आरम्भ गरेका हुन्। साथै, व्यावसायिक जीवनको शुरुआतमा उनी निर्माण व्यवसायमा थिए।
बैंकिङ, रियल स्टेट, जलविद्युत र खाद्य क्षेत्रमा केसीले ठूलो लगानी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीमा लामो समय काम गरेका केसी पोखराका पूर्वप्रधानपञ्च पनि हुन्।
पहिलो संविधानसभाको निर्वाचनमा राप्रपाबाट समानुपातिक सांसद बनेका केसी प्रतिनिधिसभा निर्वाचनको निर्वाचनताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेसले उनलाई समानुपातिक कोटामा प्रतिनिधिसभिामा पठाएको हो।