काठमाडाै– यतिबेला मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ भने र कतिपय नयाँ बिरामीसमेत थपिन थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिडका कारण एन्जाएटी (छटपटी), स्टेस डिसअर्डरलगायत मानसिक समस्या बढेको छ ।
बालबालिकामा झिँझो मान्ने, जुनसुकै समयमा इन्टरनेट प्रयोग गर्न नपाउँदा लतको समस्या देखिएको छ । धेरैमा मानसिक समस्या बढ्दै गए पनि यातायातको अभावका कारण धेरै अस्पतालसम्म आउन नसकेको हुन सक्ने पाटन मानसिक अस्पताल प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा. अनन्तप्रसाद अधिकारीले जनाएका छन् ।
अधिकारीका अनुसार नेपाल सरकारले औपचारिक रुपमा संक्रमितको सङ्ख्या बढिरहेकाले सतर्क रहन भनिरहेको र कतिपय विज्ञले भने यो रोग भनेको केही होइन भन्ने किसिमका धारणा राख्दा धेरै व्यक्तिमा अन्योल भएको छ ।
उनले भने, ‘मानिसलाई दिगभ्रमित हुँदा समस्या अझै बढिरहेको छ ।’
बालबालिकामा पनि मानसिक रोगको जोखिम रहेको पाइन्छ । विद्यालय बन्द भएका कारण लामो समयदेखि घरमै बसिरहेकाले उनीहरुमा इन्टरनेटको बढी प्रयोग गर्ने र नपाउँदा झर्कने गरेका छन् । उनले भने, ‘कतिपय बालबालिकामा टाउको दुख्ने, निद्रा गडबढ हुने समस्या पनि पाइएको छ ।’
कोभिडको संक्रमण अझै लामो समयसम्म जान सक्ने भएकाले मानसिक रोगको उपचारका लागि विकल्पका बारेमा सोच्न जरुरी छ । टेलिमेडिसिन वा कार्यरत मेडिकल अधिकृतलाई दिइने तालिम विकल्प हुनसक्ने डा. अधिकारीको भनाइ छ । अस्पतालले अहिले बिरामी वा उनीहरुका आफन्तले टेलिफोन गर्दा सुझाव दिइरहेका छन् । मानसिक रोगको औषधि मनोचिकित्सकको पूर्जा नभई नदिने भएकाले आफूले टेलिफोनबाट पनि समन्वय गरिरहेको उनले बताए ।