काठमाडौं– सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल सुरु गरेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो ।
परिषद्ले रुसमा बनेको कोरोना भाइरस को विरुद्धको खोप ‘स्तुनिक भी’ नेपालमा पनि प्रयोग गर्नेबारे छलफल अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा नेपालस्थित रुसी राजदूतावासलाई पत्र लेख्दै नेपालमा पनि प्रयोग गर्नेबारे परिषद्ले छलफल सुरु गरेको हो ।
रुस सरकारले बनाएको खोपको बारेमा परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले नेपालस्थित रुसका राजदूत अलेक्जी ए नोभिकोभसँग पनि छलफल गरिसकेका छन् ।
‘खोपबारे रुसी राजदूतसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ,’ उनले भने, ‘हामीले उक्त खोप नेपालमा पनि प्रयोग गर्न सकिने वा नसकिनेबारे अध्यययन अनुसन्धान गर्दछौ । त्यसपछि मात्र प्रयोग गर्ने वा नगर्ने भन्ने थाहा हुन्छ ।’
आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल)का लागि आउन ती देशले खोजेका छन् । परिषद्ले ती औषधि र खोपका लागि अनुसन्धान गरेर मात्र नेपालमा तेस्रो चरणका लागि क्लिनिकल ट्रायल अनुमति दिने भएको छ । अहिलेसम्म कुनै खोपको प्रयोग नेपालमा गरिएको छैन ।
परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले विभिन्न देशमा कोभिड १९ विरुद्ध बनेका औषधि र खोपको नेपालमा प्रयोग गर्नेबारे अनुसन्धान प्रक्रिया सुरु गरिएको जानकारी दिए । ‘नेपालमा तेस्रो चरणका लागि खोप र औषधिको परीक्षण गर्नका लागि विभिन्न देशले इच्छा व्यक्त गरेका छन्,’ उनले भने, ‘हामीले अध्ययन अनुसन्धान गरेर मात्र प्रयोगका लागि अनुमति दिन्छौं ।’
प्लाजाथेरापी
परिषद्ले नेपालमा यसअघि विभिन्न अस्पताललाई प्लाजाथेरापी विधिबाट कोभिड १९ का सङक्रमितको उपचार गर्ने पद्धति अपनाउन स्वीकृत प्रदान गरिसकेको छ ।
अहिले प्लाजा थेरापीविधिबाट गम्भीर अवस्थाका विरामीको उपचार विभिन्न कोभिड १९ अस्पतालले गरिरहेका छन् ।