ललितपुर– साझा पार्टीले प्रतिस्थापन कला विद्रोहमार्फत देशमा देखिएका विसंगति हटाउन सरकारलाई खबरदारी गरेको छ । साझाले सरकार जनताको अभिभावक हुन नसकेको भन्दै ‘३६५ दिन नै गाईजात्रा’ प्रतिस्थापन कला विद्रोहमार्फत सांकेतिक खबरदारी गरेको हो ।

साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले ‘प्रतिस्थापन कला विद्रोह’मार्फत सरकारलाई रचनात्मक तवरले सन्देशमूलक खबरदारी गर्न खोजिएको बताए ।
उनले भने, ‘यती प्रकरण, ७० करोड काण्ड, अख्तियार आयुक्त राजनारायण पाठक प्रकरण, ओम्नी प्रकरण, निर्मला हत्याकाण्ड, अंगिरा पासी हत्या, एसिड आक्रमण, गीता ढकालका हत्यारा उन्मुक्ति काण्ड, नवराज विकलगायतको हत्या, बालुवाटार जग्गा प्रकरणमा सरकारले ठीकसँग दायित्व पूरा गर्न नसकेकाले रचनात्मक किसिमले खबरदारी गरिएको हो ।’

उनले यस्ता काण्डका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘सरकारलाई विषम परिस्थितिमा गैरजिम्मेवार र गैरजवाफदेही बन्ने छुट छैन, हाम्रो रचनात्मक खबरदारी जारी छ ।’ रचनात्मक विरोधका क्रममा मास्क र पन्जा अनिवार्य गराउँदै भौतिक दुरी कडाइका साथ कायम गरिएको नेता परियारले बताए ।