लुम्बिनी– उमेरले ७३औं वसन्त पार गरे पनि जोस–जाँगरमा कुनै कमी छैन । हरेक बिहान ४ बजे उठेदेखि रातको साढे ९ बजेसम्म उनी सक्रिय हुन्छन् । कुनै बेला रोगले थलिएर गलेका कपिलवस्तुका मेघराज ज्ञवालीले आफ्नो यो सक्रियताको भित्री रहस्य विपश्यना ध्यान रहेको बताउँछन् । २०२० देखि नेपाली राजनीतिमा लागेका ज्ञवालीलाई लाग्छ, सक्रियता विपश्यनाका कारण सम्भव भएको हो ।
२०६४ मा कपिलवस्तु निर्वाचन क्षेत्र–३ बाट संविधानसभा सदस्यमा तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार ज्ञवाली २०५७ देखि माओवादी जनयुद्धमा होमिएका थिए । उनले भने, ‘रोगले च्यापेझैं लाग्यो अनि प्रचण्ड कामरेडलाई जुम्लामा भेटेर उपचारका लागि भारत गएँ ।’
नेपाल र भारतका विभिन्न अस्पताल र ठाउँ चाहार्दा पनि उनको रोग निको भएन । त्यसपछि उनले लुम्बिनी आएर विपश्यना गर्न थाले ।
पहिलो पटक लुम्बिनीमा विपश्यना शिविरमा जाँदा जति दुःख भए पनि शिविर भने नछाडेको उनको भनाइ छ । उनी भन्छन्, ‘शिविर सुरु भएको आठौं दिनमा त अचम्मै भयो । अन्तरमनदेखि शक्ति आएझैं भयो । त्यसपछि नवौं र दसौं दिन आनन्दले विपश्यना गरे । त्यसपछि नियमित आइरहेको छु ।’
ज्ञवाली हालसम्म ४५, ३०, २०, १० र नौ दिनका विपश्यना ध्यान शिविरमा बसेका छन् । विपश्यना शिविरमा आएपछि सबै शारीरिक समस्या हटेको उनको भनाइ छ ।
उनले भने, ‘विपश्यनामा लागेपछि सबै रोगबाट मुक्त भएको महसुस भएको छ, अहिले पूर्ण स्वस्थ छु । कुनै औषधी सेवन गर्नुपरेको छैन ।’
निजी विद्यालयहरुको संस्था प्याब्सन प्रदेश ५ का अध्यक्ष पाण्डेले अध्यात्मिक, मानासिक र शारीरिक लाभका लागि विपश्यना ध्यान सबैभन्दा उपयोगी भएको बताउँछन् । उनी भन्छन्, ‘विपश्यना ध्यानमा किशोरकिशोरीलाई राखियो भने त्यो अझै प्रभावकारी हुन्छ । किनकी उनीहरु सांसारिक मोहमा फसेका हुँदैनन् । पञ्चशील पालना गर्न सहज हुन्छ । यसले ध्यान अझै प्रभावकारी हुन्छ ।’
- म अरुको अगाडि गएर आफ्ना कुरा राख्न पनि अप्ठेरो मान्थें तर अहिले ढुक्कसँग तार्किक रुपमा कुरा राख्छु । मेरो व्यवहार परिवर्तन भएको छ । दैनिक जीवनमा आउने विभिन्न समस्यासँग जुध्न कुनै अप्ठ्यारो लाग्दैन ।
अर्घाखाँचीका प्रकाश पाण्डे पहिलोपटक विपश्यना ध्यानमा जाँदा झन् ज्ञान बढेर गएको बताउँछन् । उनी भन्छन्, ‘म अरुको अगाडि गएर आफ्ना कुरा राख्न पनि अप्ठेरो मान्थें तर अहिले ढुक्कसँग तार्किक रुपमा कुरा राख्छु । मेरो व्यवहार परिवर्तन भएको छ । दैनिक जीवनमा आउने विभिन्न समस्यासँग जुध्न कुनै अप्ठ्यारो लाग्दैन ।’
लुम्बिनीस्थित धम्म जननीमा हालसम्म २ सय ९५ वटा शिविर सम्पन्न भएका छन् । उक्त शिविरमा १२ हजारभन्दा बढी व्यक्ति सहभागी भएको धम्म जननीका व्यवस्थापक पिताम्बर सुवेदीले बताए ।
लुम्बिनी विकास कोषको परिषरभित्र रहेको धम्म जननीमा सञ्चालित विपश्यना शिविरमा सतिपठ्ठान शिविर, एक्ज्युकिटिभ शिविर पनि सञ्चालनमा छन् । उक्त ठाउँमा १० दिने, २० दिने, ३० दिने, ४५ दिने र विशेष १० दिने शीविर सञ्चालन हुदै आएका छन् ।–रासस