कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि तीनवटै तहबीच समन्वय आवश्यक भएको बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा तयार गरिएको प्रथम पञ्चवर्षीय योजनाको पुस्तक आज यहाँ लोकार्पण गर्दै उनले तीनवटै सरकार एकताबद्ध हुँदै अघि बढ्न सकेको अवस्थामा जनताका अपेक्षा पूरा गर्ने गरी समृद्धि र विकासमा अघि बढ्न सकिन्छ भने।
आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनालाई आधारका रुपमा लिँदै आगामी वर्षका नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको जानकारी दिँदै आयोगका अध्यक्षसमेत रहनुभएका उहाँले समृद्ध प्रदेश र सुखी प्रदेशवासीको लक्ष्य प्राप्तिका लागि सरकार क्रियाशील बन्ने उल्लेख गरे । सङ्घ सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ बजेमा आएको चालू खर्चबाट जनअपेक्षा पूरा गर्न नसकिने बताउँदै उनले फजुल खर्च कटौती गरी विकासतर्फ बढाउनुपर्ने आवश्यकता औँल्याए ।
योजनामा गण्डकी प्रदेशको समग्र विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित समृद्धि र सुखका मुख्य सूचक निर्धारण गरिएको उनले बताए । “प्रदेशमा उत्पादन र उत्पादकत्व वृद्धि गरी वार्षिक औषत १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र विकसित राष्ट्रसरहको उच्च आय भएको समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्यसहित यो योजना तयार गरेका छौँ”, उनले भने । प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार पर्यटन र कृषि भएको उल्लेख गर्दै उनले पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नु आवश्यक भएकामा जोड दिए ।
जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकता दिनुपर्ने औँल्याउँदै उनले यससँगै ठूला उद्योग स्थापनामा पनि जोड दिइने उल्लेख गरे । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले जनसहभागितामूलक योजना तर्जुमा पद्धति अपनाई प्रथम पञ्चवर्षीय योजना तयार गरिएको जानकारी दिए । समावेशी, सन्तुलित तथा दिगो सामाजिक, आर्थिक र भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्धि र सुख हासिल गर्न योजनाबद्ध विकास गर्नु आवश्यक भएको उनले बताए । प्रदेश सरकारले आफ्नो समृद्धि र सुखका लक्ष्य प्राप्त गर्न प्रथम पञ्चवर्षीय योजना तयार गरेको उनले बताए । रासस