काठमाडौं। चुनावअघिको गठबन्धनमा आवद्ध चार राजनीतिक दलको निर्णायक बैठक शुक्रबार साँझ ५ बजे बस्ने भएको छ।
चुनावअघिको गठबन्धनमा आवद्ध चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक शुक्रबार बिहान करिब ४ घण्टा बसेको थियो।
उक्त बैठकमा पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।
सम्बन्धित समाचारः पुरानो गठबन्धन ब्युँताउने भनिएको बालुवाटार बैठकमा के–के भयो ?
उनका अनुसार छलफल सकारात्मक भएको छ र चार दलको बैठक फेरि आजै साँझ ५ बजे बस्नेछ। उक्त बैठकले पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिको साझा उम्मेदवार तय गर्ने थापाको दाबी छ।
उक्त बैठकअघि दलहरुले आ–आफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्दैछन्।
बैठकपछि थापाले भने, ‘सबैले आ–आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं। भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं। विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ। छलफल सकारात्मक छ।’
स्रोतका अनुसार राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो भने उपराष्ट्रपति जसपाले पाउने सम्भावना छ। तर, राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि दाबी छोडेका छैनन्। उनलाई मनाउन प्रधानमन्त्री प्रचण्ड लागेका छन्।
शुक्रबार बिहान बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए।