काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ।
ग्याँस सिलिन्डर विस्फोट भएर घाइते भएका भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो। अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार दिउँसो सवा ३ बजे तिर विमान उडेको छ ।
त्यसअघि कीर्तिपुर अस्पतालबाट एयर एम्बुलेन्समा राखेर उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो। नर्भिक अस्पतालको ६ जना चिकित्सकको टीम फ्लाइटमा पनि सँगै छ।
बुधबार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए। सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको थियो।
भण्डारीकी आमा हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भइसकेको छ। भण्डारीकी आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल बनेको थियो।
भण्डारीको अवस्था के ?
सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको छ।
स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन्।
श्वासप्रश्वासको नली सुन्निन थालेको कारण उनमा जटिलता थपिँदै गएको छ। चिकित्सकका अनुसार भण्डारीको दुवै हात, दुवै गोडा र अनुहार जलेको छ।
हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ।