काठमाडौं। रवि लामिछाने फेरि उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन्।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो। त्योसँगै उनले उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन्।
लामिछानेले नागरिकता पुनः लिइसकेपछि अब उनलाई मन्त्रीलगायत सार्वजनिक पद लिन बाटो खुलेको छ। नेपालको कानुनले सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने सुविधा दिएको छ। ६ महिनापछि भने मन्त्री बन्न सांसद बन्नुपर्नेछ।
लामिछान चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनको सांसद पद खारेजसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन हुनेछ। उनी उक्त उपनिर्वाचनमा उम्मेदवार बनेर फेरि सांसद हुने तयारीमा छन्।
स्रोतका अनुसार फेरि मन्त्री नियुक्तबारे लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार राजीनामा दिने क्रममा नै छलफल गरिसकेका थिए। त्यसमा प्रचण्ड सकरात्मक नै थिए।
आज एकपटक छलफलपछि प्रचण्डले लामिछानेलाई मन्त्रीमा नियुक्त गर्ने स्रोतको दाबी छ। त्यसबारे सत्ता गठबन्धनमा छलफल सुरु भइसकेको छ।
सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने सुविधाअनुसार लामिछानेलाई सम्भव भएसम्म आइतबार नै मन्त्रीमा नियुक्त गर्ने तयारी छ। ढिलोमा सोमबारसम्ममा उनी नियुक्त भइसक्नेछन्।
सम्बन्धित समाचारः
रवि लामिछानेको सांसद पद खारेज
यस्तो छ रवि लामिछानेको मुद्दामा सर्वोच्चले सुनाएको फैसलाको पूर्णपाठ
रवि लामिछाने फेरि यसरी बन्न सक्छन् सांसद र मन्त्री
रवि लामिछानेले लिए नेपाली नागरिकता