काठमाडौं । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउँदै वर्तमान सरकारको आलोचना गरेकी छन्।
अवामी लिगले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै हसिनाले हिरासतमा रहेका व्यक्तिलाई यातना दिने, उपचारबाट वञ्चित गर्ने र परिवारलाई समेत जानकारी नदिई हत्या गर्ने काम भइरहेको दाबी गरिन्। उनले सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामका मुक्ति योद्धा शेख हुसेन अलीको हत्या गरी शव रुखमा झुन्ड्याइएको घटनाप्रति पनि आपत्ति जनाइन्। यस्तो घटना बङ्गलादेशको स्वतन्त्रता सङ्घर्षमाथिकै प्रहार भएको उनको भनाइ थियो।हसिनाले बङ्गलादेशले स्वतन्त्रता प्राप्त नगरेको भए अहिले पनि पाकिस्तानी सेनाको अधीनमा रहनुपर्ने अवस्था हुने टिप्पणी गरिन्। आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको स्मरण गर्दै उनी जीवित रहेको भए स्वतन्त्रताको एक दशकभित्रै देश विकसित राष्ट्र बन्न सक्ने दाबीसमेत उनले गरिन्।हसिनाको यस्तो अभिव्यक्ति अवामी लिगले दुईदिने देशव्यापी बन्द आह्वान गरेको समयमा आएको हो। बन्दका क्रममा विभिन्न स्थानमा सडक अवरुद्ध र आगजनीका घटना भएपछि सरकारले सुरक्षा व्यवस्था कडा पार्दै प्रहरी तथा सीमा सुरक्षा बलका थप १२० प्लाटुन परिचालन गरेको छ।
यसैबीच, नाराइल जिल्लामा बङ्गलादेश नेसनलिस्ट पार्टी बीएनपी समर्थकहरूले अवामी लिगका नेता तथा कार्यकर्ताका घर र पसलमा आक्रमण तथा आगजनी गरेको ढाका ट्रिब्युनले जनाएको छ। अग्नि नियन्त्रण सेवाका अनुसार उक्त घटनामा ५० भन्दा बढी आवासीय संरचनामा क्षति पुगेको छ।हाल भारतमा निर्वासनमा रहेकी हसिनाले डिसेम्बर १६ मा बङ्गलादेश फर्किने घोषणा गरेकी छन्। तर, प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले उनलाई यात्रा कागजात उपलब्ध नगराउने र स्वदेश फर्किए पक्राउ तथा सुपुर्दगी प्रक्रिया अघि बढाउने जनाएको छ।उता, भारतको विदेश मन्त्रालयले बङ्गलादेशबाट प्राप्त सुपुर्दगीसम्बन्धी अनुरोधमाथि स्थापित प्रक्रियाअनुसार अध्ययन भइरहेको जनाएको छ। मन्त्रालयले यात्रा कागजात प्राप्त गरेर स्वेच्छाले स्वदेश फर्किने विषय सुपुर्दगी प्रक्रियाभन्दा अलग रहेको पनि स्पष्ट पारेको छ।