काठमाडौं । नेपाली कांग्रेसले जिल्ला तथा प्रदेश अधिवेशन सञ्चालन गर्ने तयारीलाई तीव्रता दिएको छ।
पार्टीले हिमाली जिल्लामा मंसिरको अन्तिम साता र अन्य जिल्लामा पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने कार्यतालिका बनाएको छ।सभापति गगनकुमार थापाका अनुसार केन्द्रीय निर्वाचन समितिसँगको छलफलपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते अधिवेशन गर्ने तयारी गरिएको छ। त्यस्तै, अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन सञ्चालन गरिनेछ।हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुने र हिमपातको सम्भावना रहने भएकाले त्यहाँका अधिवेशन चाँडै सम्पन्न गर्ने योजना बनाइएको सभापति थापाले बताएका छन्। यद्यपि, विशेष परिस्थिति सिर्जना भएमा सम्बन्धित जिल्ला कार्यसमितिसँगको समन्वयमा निर्वाचन समितिले मितिमा सामान्य परिवर्तन गर्न सक्नेछ।
यसैगरी, कांग्रेसले प्रदेश अधिवेशन पनि पुस १२ देखि १८ गतेभित्र सम्पन्न गर्ने तयारी गरेको छ। सातवटै प्रदेशमा एकैदिन अधिवेशन नगरी एक–दुई दिनको अन्तर राखेर कार्यक्रम सञ्चालन गरिने सभापति थापाले स्पष्ट पारेका छन्।केन्द्रीय पदाधिकारीहरू सबै प्रदेशका अधिवेशनमा सहभागी भएर सम्बोधन तथा आवश्यक समन्वय गर्नुपर्ने भएकाले फरक–फरक मिति तय गर्न लागिएको पार्टीले जनाएको छ।अधिवेशनसम्बन्धी विस्तृत कार्यतालिका केन्द्रीय निर्वाचन समितिले सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ।