काठमाडौं । नेपाली कांग्रेसका देउवा पक्षका नेता एनपी साउदले पार्टीको १५औँ महाधिवेशनमा विधान संशोधन गरेर केन्द्रीय कार्यसमितिमा नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन्।
अस्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै साउदले विदेशमा रहेका नेपालीहरूले पार्टीमा पुर्याएको योगदान र उनीहरूको भूमिकालाई संस्थागत गर्न केन्द्रीय समितिमा प्रतिनिधित्वको व्यवस्था गरिएको बताए।उनका अनुसार पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउनुका साथै प्रवासमा रहेका नेपालीका समस्या समाधान गर्न पनि जनसम्पर्क समितिको भूमिका महत्त्वपूर्ण छ। विशेषगरी कन्सुलर सेवा, नेपाली नागरिकताको निरन्तरता तथा विदेशमा रहेका नेपालीले भोग्दै आएका अन्य समस्याबारे पार्टीभित्रैबाट प्रभावकारी पहल गर्न सकिने उनको भनाइ थियो।
साउदले विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाएको टिप्पणी गर्दै अब नियमित महाधिवेशनमार्फत कांग्रेसलाई थप एकताबद्ध, सशक्त र व्यवस्थित बनाउनुपर्ने बताए।यसअघि अस्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनमा प्रत्यक्ष सहभागी भएको स्मरण गर्दै उनले यसपटक भर्चुअल माध्यमबाट सम्बोधन गर्न पाउँदा खुसी लागेको पनि बताए।