काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले मंसिर १३ गतेलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गर्न सरकारसँग आग्रह गरेको छ।
पार्टीले मातृभाषाको संरक्षण, विकास र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने मागसमेत अघि सारेको छ।आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले नेपालका सबै समुदायका मातृभाषाको संरक्षणका लागि राज्यले ठोस नीति र कार्यक्रम ल्याउनुपर्ने बताएका थिए। पार्टीले यसै वर्षदेखि मंसिर १३ गतेलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन थालेको जानकारी पनि दिएको छ।
पार्टी अध्यक्ष केशव सूर्यवंशीले मातृभाषा संरक्षणमा राज्यले पर्याप्त ध्यान नदिए सम्बन्धित समुदायको ज्ञान, सीप, इतिहास, सभ्यता र मौलिक पहिचान हराउने जोखिम रहेको बताए। उनले मातृभाषाको संरक्षणलाई सरकारी प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।उनका अनुसार २०७५ मंसिर १३ गते इलामको माङ्सेबुङ गाउँपालिका–५ मा लिम्बू अर्थात् याक्थुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न थालिएको थियो। सोही दिनको ऐतिहासिक महत्त्वलाई आधार बनाएर मंसिर १३ लाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा स्थापित गर्नुपर्ने पार्टीको माग छ।
सूर्यवंशीले यस पहलले नेपालको बहुभाषिक नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। पार्टीले मातृभाषालाई राष्ट्रिय एकता, सांस्कृतिक पहिचान, स्थानीय ज्ञान र ऐतिहासिक विरासतसँग जोड्दै यसको विकासका लागि ‘मातृभाषा समृद्धि यात्रा’ अभियान सञ्चालन गर्ने जनाएको छ।पार्टी प्रवक्ता तथा उपमहासचिव चेतबहादुर आलेले २०८४ सालको राष्ट्रिय मातृभाषा दिवसका अवसरमा तीनदिने राष्ट्रिय मातृभाषा महोत्सव आयोजना गर्ने तयारी रहेको जानकारी दिए। महोत्सवमा विभिन्न मातृभाषाका दृश्य, श्रव्य तथा लिखित सामग्री प्रदर्शन गर्नुका साथै मातृभाषी सर्जकबीच अनुभव आदानप्रदान गरिने उनले बताए।
आलेका अनुसार रुपन्देहीमा असोज २५ देखि २७ गतेसम्म सम्पन्न पार्टीको १२औँ राष्ट्रिय भेलाले मंसिर १३ लाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।कार्यक्रममा संगठन विभागका उपप्रमुख विके रानाले मातृभाषाको संरक्षण र प्रवर्द्धनले नेपालको सांस्कृतिक विविधता, राष्ट्रिय पहिचान र सामाजिक एकतालाई बलियो बनाउन सहयोग पुग्ने धारणा राखे।