काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस नजिक शनिबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पपछि ४० वटाभन्दा बढी परकम्प गएको जनाइएको छ। धक्काका कारण घर, पसल र विमानस्थलमा सामान खसेपछि स्थानीय बासिन्दा तथा यात्रुहरू त्रसित भएका थिए।अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार बिहान ९ः३० बजे म्यानहटन बिच सहरबाट करिब ६ किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो। जमिनको सतहबाट करिब १२.२ किलोमिटर गहिराइमा भूकम्प गएको सर्वेक्षणले जनाएको छ।
भूकम्पका कारण लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल (एलएएक्स) को छतबाट टायल खसेका थिए। धुलो र सिसाका टुक्रा झर्न थालेपछि केही यात्रु जोगिन टेबलमुनि बसेका थिए। यस्तै, किराना पसल तथा समुद्री तटीय क्षेत्रका पसलहरूमा सामान खसेपछि मानिसहरू बाहिर निस्किएका थिए। हर्मोसा बिचको एक पसलमा वाइनका बोतलहरू खसेका थिए भने पार्किङ क्षेत्रमा गाडीका अलार्म बज्न थालेका थिए।
मुख्य भूकम्पपछि बिहान ११ः४१ बजे ४.५ म्याग्निच्युडको अर्को धक्का महसुस गरिएको थियो। त्यसैगरी, साँझ ८ बजेपछि हर्मोसा बिच नजिक ४.० म्याग्निच्युडको परकम्प गएको यूएसजीएसले जनाएको छ।लस एन्जलसकी मेयर करेन बासले यस क्षेत्रमा भूकम्पको अनुभव सामान्य भए पनि यसपटकको धक्का सहर नजिकै केन्द्रित भएकाले बढी प्रभाव महसुस भएको बताएकी छन्। उनले सर्वसाधारणलाई दैनिक गतिविधि जारी राख्न आग्रह गरेकी छन्।
अधिकारीहरूका अनुसार अहिलेसम्म ठूलो भौतिक क्षति वा मानवीय चोटपटकको विवरण आएको छैन। विमानस्थलको उडान सेवा पनि सामान्य रूपमा सञ्चालन भइरहेको छ। यद्यपि, आगामी केही दिन थप परकम्प आउन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ।