काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको भन्दै सर्वसाधारणलाई झुक्याएर रकम असुल्न खोजेको आरोपमा काठमाडौंमा पाँच जना पक्राउ परेका छन्।
कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ओखलढुंगाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्कसिंह भोलन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिलाई छुटाइदिने भन्दै उनका भाइसँग दुई लाख रुपैयाँ मागेका थिए।गत कात्तिक १० गते प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका ती व्यक्तिलाई छुटाउन आफूहरूले सहयोग गर्न सक्ने भन्दै उनीहरूले रकमको व्यवस्था गर्न दबाब दिएको आरोप छ। यसका साथै होटलमा गरेको खर्चसमेत तिरिदिन उनीहरूले भनेको प्रारम्भिक विवरणमा उल्लेख छ।
नक्कली प्रहरी अधिकारी बनेर रकम मागेको आरोपमा पक्राउ परेका पाँचै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।