काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुई दिनका लागि देशव्यापी बन्द घोषणा गरेको छ।
बन्दका कारण विशेषगरी देशको दक्षिणी क्षेत्रमा जनजीवन प्रभावित भएको छ। केही स्थानमा सडक अवरुद्ध गर्नुका साथै आगजनीका घटनासमेत भएका छन्।बन्दलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। दक्षिणी जिल्लाहरूमा थप प्रहरी परिचालन गरिएको छ भने सीमा सुरक्षा बल बंगलादेश (बीजीबी) का १२० प्लाटुन देशका विभिन्न स्थानमा खटाइएको छ।
बीजीबीका अनुसार फरिदपुर जिल्लास्थित नौदोबा–भाङ्गा–भाटियापारा राजमार्गमा रुख ढालेर यातायात अवरुद्ध गरिएको थियो। सडक अवरोध हटाई सवारी आवागमन सहज बनाउन सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।शेख हसिनाको गृहजिल्ला गोपालगञ्ज अवामी लिगको प्रभाव क्षेत्र मानिन्छ। अन्य क्षेत्रमा बन्दको प्रभाव तुलनात्मक रूपमा कम देखिए पनि गोपालगञ्जमा पार्टी समर्थकहरूले विभिन्न गतिविधि गर्दै प्रदर्शन गरिरहेका छन्।
यसैबीच, हसिनाले आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप बढेको छ। मृत्युदण्डको सजाय पाइसकेकी हसिनालाई यात्रा कागजात वा राहदानी उपलब्ध नगराइने बंगलादेश सरकारले जनाएको छ। ढाकाले सुपुर्दगी सन्धिअन्तर्गत उनलाई स्वदेश फर्काउन भारतसँग औपचारिक आग्रहसमेत गरेको छ। तर भारतले सुपुर्दगी र यात्रा कागजातको विषय फरक रहेको स्पष्ट पारेको छ।
सन् २०२४ मा विद्यार्थी आन्दोलन चर्किएपछि सरकारबाट बाहिरिएकी हसिना भारतमा बस्दै आएकी छन्। सन् २०२६ फेब्रुअरी १२ मा सम्पन्न निर्वाचनपछि बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा आएको थियो। उनको स्वदेश फर्किने घोषणाले बंगलादेशको राजनीतिक वातावरण र सुरक्षा अवस्थाबारे थप चासो बढाएको छ।