काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले निवर्तमान सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा सक्रिय हुने जनप्रतिनिधिलाई कारवाही गर्न सभापति गगन थापाको ध्यानाकर्षण गराएका छन् ।
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यहरुले पार्टीको नीति तथा निर्णयविपरित चल्ने स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरुलाई कारवाही गर्न माग राखेका हुन् ।
सभापति थापाले पनि हिजो बैठकको उद्घाटन सत्रमा पार्टीको विधानले कारवाहीको अधिकार दिएको भन्दै देउवा समूहमा लाग्ने नेताहरुलाई घुमाउरो चेतावनी दिएका थिए । ‘म आह्वान गर्छु कि तपाईं राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहमा हुनुहुन्छ भने अस्तिको अधिवेशनमा आउनुभयो वा आउनुभएन, फरक पर्दैन तर तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने जुन ठाउँमा जनप्रतिनिधि हुनुहुन्छ, त्यसबाट राजीनामा गर्नुहोला’, उनले भनेका थिए, ‘तपाईहरु आफैले राजीनामा दिनुभएन भने विधानअनुसार कारबाही अघि बढ्छ ।’
सभापति थापाको उक्त चेतावनीप्रति आजको बैठकमा अन्य नेताहरुले सहमत जनाएका हुन् । उता, देउवा समूहले पनि महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आज चुनदेवीमा बसेको बैठकमा निर्वाचन समितिका संयोजक एकराज पोखरेलले आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनको लागि खुलामञ्च बुकिङ भइसकेको जानकारी दिएका हुन् ।