काठमाडौं ।नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ ।
प्रतिनिधि सभा अर्थ समितिमा नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३ माथिको छलफलमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले कोषको पुँजी संरचना, लगानीको दायरा र कार्यक्षेत्र विस्तार गर्ने योजना प्रस्तुत गरेका हुन् ।विधेयकमा कोषको शेयर संख्या ८ करोडबाट बढाएर १० करोड पुर्याउने तथा चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव छ । साथै, निजी इक्विटी, भेन्चर क्यापिटल, पूर्वाधार, उत्पादन, आवास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था परिमार्जन गर्न खोजिएको छ ।
कोषको सञ्चालक समिति र व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्नुका साथै संस्थागत सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनलाई थप व्यवस्थित बनाउने लक्ष्य पनि संशोधन विधेयकले राखेको छ ।