काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदसहितको प्रतिनिधिमण्डल चीन भ्रमणमा निस्किएको छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोलीलाई प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा गएको उक्त टोली चीनमा ११ दिन रहनेछ। भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायत क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।
टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी छन्।
भ्रमणको मुख्य चासो चीनले प्रविधि, नवप्रवर्तन र औद्योगिक विकासमा हासिल गरेको प्रगतिबारे जानकारी लिनु रहेको टोलीका सदस्यहरूले बताएका छन्।
रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख एवं सांसद आनन्द चन्दले चीनको प्राविधिक अनुभवलाई नेपालको आवश्यकता र क्षमताअनुसार उपयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बताए।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, डिजिटल प्रविधि र औद्योगिक विकाससँगै कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा प्रवाह तथा उद्यमशीलताका क्षेत्रमा चीनले अपनाएका नीति र अभ्यासबारे बुझ्ने योजना छ।
त्यस्तै, टोलीका सदस्य डा. धनञ्जय रेग्मीले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। आर्थिक, प्राविधिक र विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यका सम्भावना पहिल्याउनुका साथै आगामी उच्चस्तरीय भ्रमणका लागि समेत यसले आधार तयार गर्ने उनको अपेक्षा छ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलका सदस्यहरूले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।