काठमाडौं । विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्न अब आमा र सन्तान दुवैले स्वघोषणा गर्नुपर्ने भएको छ। सरकारले आवश्यक स्वघोषणाको ढाँचा निर्धारण गरेसँगै यससम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा आएको हो।
गृह मन्त्रालयले हालै सार्वजनिक गरेको नेपाल नागरिकता नियमावलीको पाँचौँ संशोधन, २०८३ मा स्वघोषणाको औपचारिक ढाँचा समावेश गरिएको छ। यसअघि नागरिकता ऐनमै यस्तो व्यवस्था भए पनि स्वघोषणा गर्ने प्रक्रिया र त्यसको आधिकारिक ढाँचा स्पष्ट थिएन।
नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा (५ख) अनुसार नेपाली आमाबाट विदेशमा जन्मिएका, नेपालमा स्थायी बसोबास गर्दै आएका, विदेशी नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नभएका व्यक्तिले अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्छन्।
नयाँ संशोधनले उक्त व्यवस्था कार्यान्वयन गर्न आवश्यक प्रक्रिया स्पष्ट पारेको हो। नियमावलीको अनुसूची ७ग मा सम्बन्धित व्यक्ति र उनकी आमाले गर्नुपर्ने स्वघोषणाको छुट्टाछुट्टै ढाँचा राखिएको छ।
व्यक्तिले आफू नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गरेको, विदेशी नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यहोरा स्वघोषणा गर्नुपर्नेछ।
स्वघोषणा फाराममा नाम, थर, जन्ममिति, दस्तखत र मिति उल्लेख गर्नुका साथै दुवै हातका औँठाछापसमेत लगाउनुपर्ने व्यवस्था छ। स्वघोषणा प्रमाणित गर्ने अधिकृतले पनि आफ्नो नाम, पद, दस्तखत र मिति खुलाउनुपर्नेछ।
त्यस्तै, आमाले पनि आफ्नो सन्तानको जन्म, बसोबास र नागरिकतासम्बन्धी अवस्था तथा बाबुको पहिचान नभएको विषयमा स्वघोषणा गर्नुपर्नेछ। त्यसका लागि आमाले आफ्नो नागरिकता प्रमाणपत्र नम्बर, जारी जिल्ला, जारी मिति र राष्ट्रिय परिचय नम्बरसमेत उल्लेख गर्नुपर्नेछ।
आमा र सन्तान दुवैले आफूले गरेको स्वघोषणा सत्य भएको प्रतिबद्धता जनाउनुपर्नेछ। विवरण झुटो ठहरिए कानुनबमोजिम सजाय भोग्नुपर्ने व्यवस्था पनि स्वघोषणामा समेटिएको छ।
नियमावलीको पाँचौँ संशोधनले नागरिकता ऐनमा पहिल्यै व्यवस्था भएको अधिकार उपयोग गर्न आवश्यक प्रशासनिक प्रक्रिया र कागजी ढाँचा स्पष्ट पारेको छ।