काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुन सक्ने खतरा बढेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउनेदेखि विभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्नेसम्मका घटनाले यस्तो जोखिम बढाएको बताएका हुन्। उनले विधि, नियम र कानुनी प्रक्रियाभन्दा पनि लहड र व्यक्तिगत इच्छाका आधारमा देश सञ्चालन हुन थालेको भन्दै चिन्ता व्यक्त गरे। जनमत प्राप्त हुँदैमा राज्य सञ्चालनका स्थापित विधि र पद्धतिलाई बेवास्ता गर्न नमिल्ने उनको भनाइ थियो।
लिङ्देनले आगामी दिनमा देशको नेतृत्व गर्न राप्रपा तयार हुनुपर्ने पनि बताए। त्यसैले पार्टीका नेता तथा कार्यकर्ताले निराश हुनुपर्ने अवस्था नरहेको उनको धारणा थियो। देशलाई सम्भावित दुर्घटनाबाट जोगाउन राप्रपा बलियो हुन र निर्वाचनमा जित हासिल गर्न आवश्यक रहेको उनले बताए। उनले पार्टीलाई व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित राजनीतिबाट मुक्त राख्दै अघि बढ्नुपर्नेमा समेत जोड दिए।