काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशका केही क्षेत्रमा समेत बादल लागेको छ। अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा भने मौसम सफा रहने अनुमान गरिएको छ। साथै, हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली रहनेछ। ती प्रदेशका पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
बुधबार पनि देशका अधिकांश भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्नेछ। अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ। बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।