काठमाडौं ।जाजरकोटमा स्वास्थ्य अवस्था जटिल बनेपछि एक सुत्केरी महिला र नवजात शिशुको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत उनीहरूलाई अस्पताल पुर्याइएको हो।मंसिर १० गते जाजरकोटको नलगाड नगरपालिका–१२ निवासी २३ वर्षीया सुत्केरी महिला र उनको शिशुमा जटिल स्वास्थ्य समस्या देखिएपछि नेपाली सेनाको हवाई साधनबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
उद्धारपछि दुवैलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ। दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।