काठमाडौं ।मेक्सिकोको उत्तरपश्चिमी सिनालोआ राज्यस्थित एक कारागारमा कैदीहरूबीच भएको हिंसात्मक झडपमा परी १० जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा नौ जना कैदी र कैदी भेट्न आएका एक बालक रहेका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार मजाटलान सहरमा रहेको एल कास्टिलो कारागारमा बिहीबार उक्त घटना भएको हो। राज्यको सार्वजनिक सुरक्षा निकायले घाइते १६ जनालाई उपचारका लागि अस्पताल पुर्याइएको जानकारी दिएको छ।सिनालोआ राज्यका सार्वजनिक सुरक्षा सचिव सिनुहे टेलेजले सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये एक जना जेलमा भेटघाटका लागि आएका बालक हुन्।
घटनालगत्तै कारागार परिसरमा विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको थियो। अधिकारीहरूले अहिले अवस्था नियन्त्रणमा रहेको र थप अप्रिय घटना हुन नदिन सुरक्षा निगरानी जारी राखिएको बताएका छन्।घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई जानकारी गराउन सामाजिक कार्यकर्ताहरू परिचालन गरिएको छ। साथै, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि कारागारमा कैदी भेट्न आउने आगन्तुकलाई प्रवेश निषेध गरिएको जनाइएको छ। जेलभित्र रहेका अन्य कैदीहरू सुरक्षित रहेको अधिकारीहरूको भनाइ छ।
सिनालोआ मेक्सिकोको यस्तो राज्य हो, जहाँ शक्तिशाली लागुऔषध तस्करी समूहहरूबीचको प्रतिस्पर्धाले लामो समयदेखि सुरक्षा चुनौती निम्त्याउँदै आएको छ। अमेरिकी विदेश मन्त्रालयले समेत सुरक्षा जोखिमका कारण भ्रमण नगर्न सुझाव दिएका मेक्सिकोका राज्यहरूमध्ये सिनालोआ पनि पर्छ।यद्यपि, एल कास्टिलो कारागारमा भएको पछिल्लो झडप लागुऔषध गिरोहबीचको संघर्षसँग सम्बन्धित छ वा छैन भन्ने विषयमा अधिकारीहरूले पुष्टि गरेका छैनन्। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको छ।