काठमाडौं ।मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको अवस्था बिग्रिएपछि विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै दुई दिन विद्यालय बन्द गरिएको छ।
वायु गुणस्तरमा लगातार गिरावट आउनुका साथै विभिन्न क्षेत्रमा धुवाँको मात्रा बढेपछि बिहीबार र शुक्रबार राज्यभरका विद्यालयमा पठनपाठन रोक्ने निर्णय गरिएको हो।जोहोर शिक्षा तथा सूचना समितिका अध्यक्ष मुहम्मद नकीब मोहम्मद गजालीले बुधबार जारी गरेको विज्ञप्तिमार्फत विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सावधानीस्वरूप विद्यालय बन्द गरिएको जानकारी दिएका छन्।
विद्यालय बन्द हुँदा राज्यका एक हजार १९८ विद्यालय प्रभावित भएका छन्। यसबाट करिब ६ लाख १७ हजार २५८ विद्यार्थीको नियमित पढाइ प्रभावित हुने जनाइएको छ।जोहोरमा पछिल्लो समय वायु प्रदूषण सूचकाङ्क एपीआई पनि उच्च देखिएको छ। बिहीबार बिहान १० बजे सेगमट क्षेत्रमा एपीआई १८७ पुगेको थियो, जुन अस्वास्थ्यकर वायु गुणस्तरको श्रेणीमा पर्छ।मलेसियाको राजधानी क्वालालम्पुरसहित ३८ क्षेत्रमा समेत अस्वास्थ्यकर स्तरको एपीआई मापन गरिएको जनाइएको छ। प्रदूषित हावाका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।