काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने मतदानको समय पुनः परिवर्तन गरिएको छ ।
निर्वाचन समितिले यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरेको थियो । आवश्यक तयारी पूरा गर्न भन्दै पहिलोपटक मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो । तर, पछिल्लो सहमतिअनुसार अब मतदान दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।मतदानको नयाँ समय तय गर्न राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँग छलफल गरेको थियो । उक्त छलफलपछि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने सहमति भएको नेता रञ्जित कर्णले जानकारी दिए ।
उनका अनुसार बागमती प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिले राष्ट्रिय सभा गृहबाट मतदान गर्नेछन् भने अन्य प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चमा मतदानको व्यवस्था गरिएको छ ।कांग्रेस महाधिवेशनमा ७ हजार २५५ जना प्रतिनिधि सहभागी छन् । उनीहरूले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेताहरूको अन्तिम सूची निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।