काठमाडौं । रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको भीषण मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
मृतकमा बालबालिकासमेत रहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। बुधबार राति गरिएको उक्त आक्रमणका कारण आवासीय भवन, औद्योगिक संरचना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेको छ। उत्तरी युक्रेनको चेर्निहिभ क्षेत्रअन्तर्गत प्रिलुकीमा सबैभन्दा ठूलो मानवीय क्षति भएको बताइएको छ। युक्रेनको आपतकालीन सेवाका अनुसार प्रिलुकीमा रुसी मिसाइल प्रहारबाट पाँचतले आवासीय भवन भत्किँदा बिहीबार बिहानसम्म २२ जनाको मृत्यु भएको छ। उद्धार टोलीले भग्नावशेषबाट १५ जनालाई जीवितै बाहिर निकालेको जनाएको छ।
राजधानी किभमा पनि आक्रमणका कारण चार जनाको ज्यान गएको छ। किभनजिकै ड्रोनका अवशेष खस्दा बुधबार साँझ दुई जनाको मृत्यु भएको थियो भने पछि भग्नावशेषबाट थप दुई शव फेला परेका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशभरको आक्रमणमा करिब १०० जना घाइते भएको बताएका छन्। उनले रुसी आक्रमणलाई अत्यन्तै क्रूर भन्दै सर्वसाधारणमा त्रास र क्षति पुर्याउने उद्देश्यले आक्रमण गरिएको आरोप लगाएका छन्। जेलेन्स्कीका अनुसार रुसले रातभर युक्रेनतर्फ करिब ७० वटा मिसाइल प्रहार गरेको थियो। तीमध्ये ठूलो हिस्सा उच्च गतिका ब्यालिस्टिक मिसाइल रहेको उनको भनाइ छ। त्यसबाहेक दर्जनौँ शाहेद ड्रोन पनि प्रयोग गरिएको थियो।
युक्रेनी वायुसेनाले रुसबाट प्रहार गरिएका ४६ वटा जेट इन्जिनयुक्त ड्रोनमध्ये ८० प्रतिशतभन्दा बढीलाई खसालिएको दाबी गरेको छ। पछिल्ला केही सातामा यस्ता ड्रोन रोक्ने दर करिब ५० देखि ६० प्रतिशतमा सीमित रहेको भन्दै यसपटक प्रतिरक्षा प्रणालीको प्रभावकारिता बढेको जनाइएको छ। तर जेलेन्स्कीले ब्यालिस्टिक मिसाइल अझै पनि युक्रेनका लागि ठूलो सुरक्षा चुनौती बनेको बताएका छन्। नागरिकको ज्यान जोगाउन आवश्यक प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली प्राप्त गर्न युक्रेनले निरन्तर प्रयास गरिरहेको उनले बताए। उता रुसी रक्षा मन्त्रालयले भने आक्रमण सर्वसाधारणलाई नभई सैन्य–औद्योगिक संरचनालाई लक्षित गरेर गरिएको दाबी गरेको छ। मन्त्रालयका अनुसार किभसहित चेर्निहिभ, किरोभोहराद, डिनिप्रोपेत्रोभ्स्क, पोल्टाभा र खार्किभ क्षेत्रमा स्थल, समुद्र तथा हावाबाट प्रहार गर्न सकिने उच्च सटीकताका हतियार र ड्रोन प्रयोग गरिएको थियो।
रुसी पक्षले युक्रेनी रक्षा कम्पनी ‘फायर पोइन्ट’सँग सम्बन्धित संरचनालाई पनि निशाना बनाइएको जनाएको छ। उक्त कम्पनीले ‘फ्लामिङ्गो’ क्रुज मिसाइल तथा मध्यम र लामो दूरीका ड्रोन उत्पादन तथा भण्डारण गर्ने दाबी रूसको छ। युक्रेनले भने गत साता ‘फायर पोइन्ट’ले विकास गरेको घरेलु ब्यालिस्टिक मिसाइल पहिलोपटक युद्धमा प्रयोग गरेको जनाएको थियो। आक्रमणको चेतावनीपछि किभका धेरै नागरिकले रातभर भूमिगत मेट्रो स्टेसनमा आश्रय लिएका थिए। राजधानीका विभिन्न क्षेत्रमा रातभर पटक–पटक ठूलो विस्फोटको आवाज सुनिएको बताइएको छ। यसैबीच, जेलेन्स्कीले पछिल्लो २४ घण्टामा युक्रेनी सेनाले रुसका चारवटा लक्ष्यमा आक्रमण गरेको बताएका छन्। उनका अनुसार तीमध्ये दुईवटा तेलसम्बन्धी संरचना र एउटा सैन्य प्रशिक्षण केन्द्र रहेका छन्। यसअघि रुसले किभलगायत युक्रेनका विभिन्न सहरमा रहेका विदेशी कूटनीतिज्ञ तथा नागरिकलाई सम्भावित जोखिमलाई ध्यान दिँदै सहर छाड्न चेतावनी दिएको थियो।