काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत युवा पुस्ताको विचार, अपेक्षा र आवाजलाई पार्टीको मूल संगठनमा प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यसहित अनुकूल रेग्मीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
रेग्मीले लुम्बिनी भूगोलअन्तर्गत ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। करिब १४ वर्ष विद्यार्थी राजनीतिमा सक्रिय रहेपछि अब पार्टीको मूल संरचनामा रहेर आफ्नो राजनीतिक यात्रालाई अघि बढाउने उनले बताएका छन्।रेग्मीले अब कुनै पनि भ्रातृ संघको पदमा नरहने स्पष्ट गर्दै पार्टीको संगठनात्मक संरचनामार्फत युवाका विचार, अपेक्षा र मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन्।
युवा पुस्ताको सहभागिता बढाउने, नयाँ नेतृत्व विकास गर्ने तथा पार्टीभित्र संगठनात्मक बहसलाई थप सशक्त बनाउने लक्ष्यका साथ आफूले उम्मेदवारी दिएको रेग्मीको भनाइ छ। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा पनि युवा पुस्ताको प्रतिनिधित्व र पार्टीको संगठनात्मक रूपान्तरणसँग जोडेर हेर्न आग्रह गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै रेग्मीले महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र सुझावको अपेक्षा गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताबाट नयाँ नेतृत्व स्थापित गर्ने बहस चलिरहेका बेला लुम्बिनी भूगोलअन्तर्गत ३५ वर्षमुनिको समूहबाट रेग्मीको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।