काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ।
सभापति, वरिष्ठ उपसभापति र महिला उपसभापति पदमा निर्विरोध नेतृत्व चयन भइसकेको छ भने अन्य पदका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।यसैबीच उपसभापति पदको समावेशी समूहबाट इन्जिनियर रञ्जित कर्ण बलियो दाबेदारका रूपमा देखिएका छन्। कर्णसँगै उद्योगी तथा अर्बपति विनोद चौधरी, जीवन परियार, सहमहामन्त्री फर्मुल्लाह मन्सुर र सीता परियार पनि समावेशी उपसभापति पदका दाबेदार छन्।नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै लामो समय संगठनमा सक्रिय रहेका कर्ण संविधानसभा सदस्य तथा हाल राष्ट्रियसभा सदस्य छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनात्मक राजनीतिमा खारिएर आएका कर्णले पार्टीभित्र युवा पुस्ता, समावेशिता र संगठनलाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी अघि सारेका छन्।
कर्णको उम्मेदवारीसँगै यसपटकको उपसभापति निर्वाचनमा एउटा महत्वपूर्ण प्रश्न पनि उठेको छ, संगठनको लामो अनुभव र संघर्षबाट स्थापित नेता कि आर्थिक तथा राजनीतिक प्रभावका आधारमा अगाडि आएका उम्मेदवार?
नेपाल विद्यार्थी संघको नेतृत्वदेखि पार्टीको विभिन्न तहमा सक्रिय रहँदै आएका कर्णका लागि यो निर्वाचन आफ्नो लामो संगठनात्मक यात्रालाई पार्टीको शीर्ष नेतृत्वमा स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ। अर्कोतर्फ, उपसभापति पदका अन्य उम्मेदवारहरूको राजनीतिक तथा सांगठनिक पृष्ठभूमि पनि मतदाताका लागि महत्वपूर्ण आधार बन्ने देखिन्छ।
१५औँ महाधिवेशनमा कांग्रेस प्रतिनिधिहरूले नेतृत्व चयन गरिरहँदा रञ्जित कर्ण समावेशी उपसभापति बन्न सफल होलान् त? संगठनबाट खारिएर आएका कर्णलाई महाधिवेशन प्रतिनिधिहरूले कति साथ दिन्छन् भन्ने विषयको अन्तिम टुंगो आजको मतदानले लगाउनेछ।