काठमाडौं ।नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज बिहान १० बजेबाट सुरु गर्ने तयारी गरिएको मतदान प्रक्रिया दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ भएपछि मतदानको समय पछाडि सारिएको जनाएको छ। अन्तिम सूची लामो भएकाले त्यसअनुसार मतपत्र तयार पार्न थप समय लागेकाले निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताएका छन्।उनका अनुसार उम्मेदवारको अन्तिम सूची गएराति करिब १० बजे मात्रै सार्वजनिक भएको थियो। सूची तयार भएपछि त्यसलाई मतपत्रमा समावेश गर्न समय लागेकाले निर्वाचन कार्यक्रम प्रभावित भएको हो।
कांग्रेसको २९७ सदस्यीय केन्द्रीय समितिका विभिन्न पदमा ठूलो संख्यामा उम्मेदवारी परेको छ। उम्मेदवारको संख्या केन्द्रीय समितिको कुल सिट संख्याको दोब्बरभन्दा बढी रहेको निर्वाचन समितिले जनाएको छ।अब मतदान प्रक्रिया दिउँसो १ बजेबाट सुरु गर्ने तयारी गरिएको छ।