काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।
महाधिवेशनको पाँचौँ दिन निर्वाचन प्रक्रियाअन्तर्गत बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गरिनेछ। निर्वाचनअघि नै तीन जना उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भुसाल तथा काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका हुन्। बाँकी पदमा भने निर्वाचनमार्फत नेतृत्व चयन हुनेछ। सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौँरबीच प्रतिस्पर्धा हुने भएको छ।
सर्वसम्मत नेतृत्वको प्रयास असफल
महाधिवेशनअघि कांग्रेस सभापति गगनकुमार थापालाई सर्वसम्मत रूपमा पुनः सभापति बनाउने प्रयास भएको थियो। असोज १८ गते महाधिवेशन उद्घाटनका क्रममा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेलगायत नेताहरूले थापा सर्वसम्मत सभापति बन्ने सम्भावना रहेको बताएका थिए। तर, मंगलबार काठमाडौँका श्यामकृष्ण खड्गी र बर्दियाका किशोरसिंह राठौँरले सभापतिमा उम्मेदवारी दिएपछि थापालाई सर्वसम्मत सभापति बनाउने सम्भावना टरेको हो।
राठौँर यसअघि १४औँ महाधिवेशनमा खस आर्यतर्फ सहमहामन्त्री निर्वाचित भएका थिए। उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। यता, काठमाडौँका श्यामकृष्ण खड्गीले भने कांग्रेसको केन्द्रीय राजनीतिमा खासै चर्चामा नरहेकै अवस्थामा सभापतिमा उम्मेदवारी दिएपछि उनको उम्मेदवारीले महाधिवेशनमा थप चर्चा पाएको छ। अब आज हुने मतदानबाट कांग्रेसको आगामी नेतृत्वसहित केन्द्रीय कार्यसमितिको संरचना तय हुनेछ।