काठमाडौं । विद्यार्थी आन्दोलनका क्रममा १५ वर्षीय बालकको हातमा गम्भीर क्षति पुगेपछि फ्रान्सले प्रदर्शन नियन्त्रणका लागि प्रयोग हुँदै आएको स्टन ग्रेनेडको प्रयोग तत्कालका लागि रोक्ने निर्णय गरेको छ।
फ्रान्सका गृहमन्त्री लरेन नुनेजले सोमबार उत्तरी शहर लेन्समा भएको घटनाको वास्तविकता स्पष्ट नभएसम्म स्टन ग्रेनेड प्रयोग नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। उक्त घटनामा प्रहरी र प्रदर्शनकारी पक्षबाट फरक–फरक दाबी सार्वजनिक भएका छन्। फ्रान्सभर विद्यार्थीको प्रदर्शन चर्किएपछि प्रहरी कारबाहीलाई लिएर पनि प्रश्न उठिरहेका छन्। प्रदर्शनकै क्रममा मंगलबार देशभरका विभिन्न शहरमा ठूलो संख्यामा मानिस सडकमा उत्रिएका थिए। केही स्थानमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।
फ्रान्सको गृह मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा ४८८ जना पक्राउ परेका छन् भने ४३ जना सुरक्षाकर्मी घाइते भएका छन्। बुधबारसम्म ५०० भन्दा बढी विद्यालय पूर्ण वा आंशिक रूपमा बन्द भएका थिए। शिक्षामन्त्री एडुआर्ड गेफ्रेले २४ वटा विद्यालयमा आगजनी वा तोडफोडका कारण केही सातासम्म विद्यालय सञ्चालन गर्न नसकिने अवस्था आएको बताएका छन्। यसबाट करिब ३० हजार विद्यार्थी प्रभावित हुने जनाइएको छ।
घटनाबारे अनुसन्धान
लेन्सस्थित अगस्ट बेहाल उच्च माध्यमिक विद्यालयनजिक भएको घटनामा १५ वर्षीय विद्यार्थीको हातमा गम्भीर चोट लागेको थियो। अधिकारीहरूले ती किशोरले जमिनमा रहेको ग्रेनेड उठाएपछि विस्फोट भएको दाबी गरेका छन्। तर प्रदर्शनमा सहभागी विद्यार्थीहरूले भने प्रहरीले प्रहार गरेको ग्रेनेडका कारण घटना भएको आरोप लगाएका छन्। प्रहरीमाथि प्रदर्शनका क्रममा आवश्यकताभन्दा बढी बल प्रयोग गरेको आरोप लागेपछि प्रहरी निगरानी निकाय I १८ वटा अनुसन्धान अघि बढाएको गृहमन्त्री नुनेजले बताएका छन्।
यसअघि गत साता १४ वर्षीय एक किशोर पनि अश्रुग्यासको ग्रेनेडबाट घाइते भएको घटना सार्वजनिक भएको थियो। उनका वकिलका अनुसार घटनामा उनको अनुहारमा चोट लाग्नुका साथै केही दाँतमा क्षति पुगेको थियो। सो घटनामा एक प्रहरी अधिकारीमाथि अभियोग लगाइएको छ। यसैबीच, स्ट्रासबर्गमा विद्यालयबाहिर १६ वर्षीय किशोर पनि आतसबाजीमा प्रयोग हुने विस्फोटक सामग्री समातेको अवस्थामा गम्भीर रूपमा घाइते भएको बताइएको छ। त्यस्तै, बेलफोर्टमा एक १७ वर्षीय प्रदर्शनकारीले पक्राउ गर्ने क्रममा प्रहरीले आफूलाई नदीको पानीमा टाउको डुबाएको आरोप लगाएपछि घटनाबारे हत्या प्रयाससम्बन्धी अनुसन्धानसमेत सुरु गरिएको छ। प्रहरीले भने ती किशोरमाथि प्रहरी अधिकारीलाई आक्रमण गरेको आरोपमा छुट्टै कारबाही अघि बढाएको जनाएको छ। फ्रान्सेली अधिकारीहरूले पछिल्ला दिनमा विद्यार्थीबाट सुरु भएको प्रदर्शन अभिभावक, विश्वविद्यालयका विद्यार्थी तथा ट्रेड युनियनसम्म फैलिएको र आन्दोलनमा हिंसात्मक घटना देखिन थालेको बताएका छन्। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले विद्यालयमा भइरहेको प्रदर्शनबारे बुधबार साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको छ।