काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेता नैनसिंह महरले महामन्त्री पदमा आफ्नो उम्मेदवारीको दाबी प्रस्तुत गरेका छन्।
उनले पार्टीको कार्यशैलीमा परिवर्तन ल्याउँदै संगठनलाई थप प्रभावकारी र परिणाममुखी बनाउने योजना अघि सारेका छन्।महरले कांग्रेसभित्र रहेका विभिन्न धार र समूहलाई समेटेर पार्टीलाई समयअनुकूल बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्। महामन्त्रीको कार्यालयलाई प्रभावकारी कार्यसम्पादन गर्ने केन्द्रका रूपमा विकास गर्ने र पार्टीका निर्णयलाई छिटो कार्यान्वयनमा लैजाने उनको प्राथमिकता छ।
पार्टीको निर्णय र त्यसको कार्यान्वयनबीच देखिएको दूरी कम गर्न जिम्मेवारी स्पष्ट बनाउने तथा कार्यकर्ताको भूमिकाको उचित मूल्याङ्कन गर्ने प्रणाली आवश्यक रहेको महरको भनाइ छ। केन्द्रदेखि स्थानीय तहसम्मका कार्यकर्तासँग नियमित संवाद गर्ने संयन्त्र निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन्।लामो समय पार्टीको एउटा धारसँग नजिक रहेको आरोप लाग्दै आए पनि अहिले आफू सम्पूर्ण कांग्रेसलाई आफ्नो कार्यक्षेत्रका रूपमा हेर्ने महरले बताएका छन्। महाधिवेशनमा हुने प्रतिस्पर्धा सकिएपछि सबै पक्षलाई साझा उद्देश्यमा जोड्नु नेतृत्वको मुख्य जिम्मेवारी हुने उनको धारणा छ।
पार्टीभित्र एकता कायम गर्न सबैका लागि समान नियम र निष्पक्ष व्यवहार आवश्यक रहेको उल्लेख गर्दै महरले निर्वाचनमा पद प्राप्त गर्न नसकेका योग्य तथा अनुभवी कार्यकर्तालाई विभिन्न विषयगत परिषद् र नीति समूहमा समेट्ने प्रस्ताव गरेका छन्।युवापुस्तामा राजनीतिप्रति बढिरहेको निराशालाई कांग्रेसले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। युवालाई केवल चुनावी गतिविधि र भीड व्यवस्थापनमा सीमित नगरी कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन तथा विश्व श्रम बजारजस्ता समसामयिक विषयमा पार्टीको नीति निर्माणमा सहभागी गराउनुपर्ने उनले बताए।
नेपालमै रोजगारी र लगानीको वातावरण बनाउन सके युवा पलायन कम गर्न सकिने महरको धारणा छ। विदेशमा रहेका नेपालीको सीप, ज्ञान र पुँजीलाई पनि देशको विकासमा उपयोग गर्ने नीति आवश्यक रहेको उनले बताए।महरले लोकतान्त्रिक समाजवादलाई वर्तमान समयअनुकूल ढंगले पुनर्व्याख्या गर्नुपर्नेमा जोड दिएका छन्। राज्यले आधारभूत सेवा र निष्पक्ष नियम सुनिश्चित गर्ने तथा निजी क्षेत्रले उत्पादन र रोजगारी विस्तार गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
प्रतिपक्षमा रहेको कांग्रेसले सरकारको आलोचना मात्र नगरी आफूलाई वैकल्पिक सरकारका रूपमा तयार गर्नुपर्ने महरले बताएका छन्। सरकारका गलत काममाथि तथ्यका आधारमा प्रश्न उठाउने र सकारात्मक कामलाई समर्थन गर्ने जिम्मेवार प्रतिपक्षको भूमिका कांग्रेसले निर्वाह गर्नुपर्ने उनको धारणा छ सुदूरपश्चिमबाट केन्द्रीय नेतृत्वमा दाबी गरिरहेका महरले भूगोलका कारण कुनै पनि प्रतिभा पछाडि पर्न नहुने सन्देश दिन खोजेका छन्। विगतको राजनीतिक विरासत मात्र पर्याप्त नभएकाले वर्तमान पुस्ताका समस्या र चुनौतीको समाधान प्रस्तुत गर्नु १५औँ महाधिवेशनको महत्वपूर्ण जिम्मेवारी रहेको उनले बताएका छन्।
अर्थतन्त्रलाई चलायमान बनाउने, सार्वजनिक सेवा सुधार गर्ने र संगठनलाई प्रभावकारी बनाउने विषयलाई पार्टीको नीति तथा कार्यशैलीमा जोड्न सके मात्र कांग्रेसको वास्तविक रूपान्तरण सम्भव हुने महरको भनाइ छ।