काठमाडौं ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढिरहेको द्वन्द्व तत्काल अन्त्य गरी वार्ता र कूटनीतिक पहलमार्फत समाधान खोज्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
पाकिस्तान भ्रमणका क्रममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै समुद्री मार्गमा आवतजावत तथा नौवहनको अधिकार र स्वतन्त्रता पूर्ण रूपमा बहाल गर्नुपर्ने बताए।उनका अनुसार प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित नभएसम्म मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापना गर्न कठिन हुनेछ। उनले उक्त अधिकारका लागि पाकिस्तानले लामो समयदेखि आवाज उठाउँदै आएको पनि उल्लेख गरे।
गुटेरेसले द्वन्द्व र अस्थिरताका कारण आफ्नो देश छाड्न बाध्य भएका ठूलो संख्याका अफगान नागरिकलाई पाकिस्तानले लामो समयदेखि आश्रय प्रदान गर्दै आएको भन्दै प्रशंसा गरे।मध्यपूर्वमा स्थायित्व र समृद्धि कायम गर्न संवाद, सहकार्य र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। क्षेत्रीय समस्याको समाधान सैन्य माध्यमभन्दा वार्ता र कूटनीतिक प्रक्रियाबाट खोज्नुपर्नेमा उनले जोड दिए।
संयुक्त राष्ट्रसङ्घका सिद्धान्त र मान्यताप्रति प्रतिबद्धता जनाउँदै महासचिव गुटेरेसले अफगान नागरिकलाई स्वेच्छाले, सुरक्षित र सम्मानजनक रूपमा स्वदेश फर्कन सक्ने वातावरण निर्माणका लागि पाकिस्तानसँग सहकार्य गर्न राष्ट्रसङ्घ तयार रहेको बताए।गुटेरेसको पाकिस्तान भ्रमण सन् २०२२ मा देशमा आएको विनाशकारी बाढीपछि भएको यो पहिलो भ्रमण हो।