काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपक्षकी पत्नी तथा पूर्वप्रथम महिला शिरन्थी राजपक्षलाई भ्रष्टाचारसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको छ।
७३ वर्षीया शिरन्थीलाई बुधबार कोलम्बोको किरुलापोनस्थित राजपक्ष परिवारको निवासबाट श्रीलंकाको भ्रष्टाचार तथा घुससम्बन्धी अनुसन्धान गर्ने आयोग सीआईएबीओसी का अधिकारीहरूले नियन्त्रणमा लिएका हुन्।उनी नेतृत्वमा रहेको ‘सिरिलिया सविया’ नामक संस्थाको बैंक खातासँग जोडिएको करिब एक करोड श्रीलंकाली रुपैयाँको कारोबारमा अनियमितता भएको आरोपमा अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।
अनुसन्धानकर्ताका अनुसार सरकारी स्वामित्वको एक बैंकबाट प्राप्त भएको उक्त रकम सिरिलिया सवियाको खातामा जम्मा गरिएको थियो। सन् २०११–१२ तिर बालबालिकाको उपचार हुने लेडी रिजवे अस्पतालमा सीटी स्क्यान मेसिन खरिद गर्न भन्दै रकम उपलब्ध गराइएको बताइएको छ।तर अनुसन्धानका क्रममा उक्त रकमबाट सीटी स्क्यान मेसिन खरिद भएको पुष्टि हुन नसकेको अधिकारीहरूको दाबी छ। अस्पतालमा चीनबाट सहयोगस्वरूप पीईटी स्क्यान मेसिन प्राप्त भएको तथ्य पनि अनुसन्धानमा देखिएको जनाइएको छ।
यस प्रकरणमा सम्बन्धित सरकारी बैंकका तत्कालीन अध्यक्षसँग समेत अनुसन्धानकर्ताले बयान लिएका छन्। सिरिलिया सवियासँग सम्बन्धित अन्य वित्तीय कारोबारबारे पनि अनुसन्धान जारी रहेको बताइएको छ।शिरन्थी केही समयअघि उपचारका लागि विदेश गएकी थिइन्। उनी सोमबार राति श्रीलंका फर्किएपछि अनुसन्धानमा पक्राउ परेकी हुन्। यसअघि उनका कानुन व्यवसायीले सम्भावित पक्राउ रोक्न अदालतमा अग्रिम जमानतको माग गरेका थिए।शिरन्थीमाथिको अनुसन्धान महिन्दा राजपक्ष राष्ट्रपति रहेको सन् २००५ देखि २०१५ सम्मको अवधिमा सिरिलिया सवियामार्फत भएका वित्तीय कारोबारसँग सम्बन्धित छ।
राजपक्ष परिवारका अन्य सदस्यसमेत पछिल्लो समय भ्रष्टाचार तथा सम्पत्तिसम्बन्धी विभिन्न अनुसन्धानको घेरामा परेका छन्। शिरन्थीमाथि लगाइएका आरोप भने अदालतबाट अन्तिम रूपमा पुष्टि हुन बाँकी छ।