काठमाडौं ।नेपाली कांग्रेसले नेपालको परराष्ट्र सम्बन्ध राष्ट्रिय हित, सार्वभौमिक समानता, पारस्परिक सम्मान र स्वतन्त्र निर्णय क्षमतामा आधारित हुनुपर्ने धारणा अघि सारेको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा छिमेकी तथा अन्य मित्रराष्ट्रसँग आपसी हित र आर्थिक सहकार्यलाई थप विस्तार गर्ने नीति समेटिएको छ। नेपाललाई विश्व समुदायमा शान्तिपूर्ण र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्ने लक्ष्यसमेत प्रस्तावमा उल्लेख गरिएको छ।थापाले पछिल्लो समय बढिरहेको भूराजनीतिक प्रतिस्पर्धाले नेपालको आर्थिक सम्बन्ध, नागरिकको सुरक्षा तथा स्वतन्त्र रूपमा निर्णय गर्ने क्षमतामा चुनौती थपिएको उल्लेख गरेका छन्। यस्तो परिस्थितिलाई दीर्घकालीन रणनीतिमार्फत सम्बोधन गर्नुपर्ने उनको प्रस्तावमा भनिएको छ।
विदेशमा रहेका नेपालीको सुरक्षा, सम्मान र अवसर सुनिश्चित गर्नुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ। विदेशमा रहेका नेपालीसँग रहेको ज्ञान, सीप, लगानी र अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालको आर्थिक तथा राष्ट्रिय विकाससँग जोड्ने नीति आवश्यक रहेको प्रस्तावमा उल्लेख छ।प्रस्तावमा राष्ट्रिय स्वाधीनताको अर्थ केवल सीमा सुरक्षा र कूटनीतिक स्वतन्त्रतामा सीमित नरहेको उल्लेख गर्दै ऊर्जा, वित्त, प्रविधि तथा आपूर्ति प्रणालीमा समेत आफ्नै निर्णय कार्यान्वयन गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिइएको छ।त्यस्तै, कूटनीतिक सेवामा योग्यता, क्षमता र इमानदारीलाई आधार बनाएर नियुक्ति गर्ने तथा प्रविधि, ज्ञान र वित्तीय क्षेत्रमा नेपालको विकल्प र आत्मनिर्भर क्षमता विस्तार गर्ने नीति अघि सारिएको छ।