काठमाडौं ।नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार रञ्जित कर्णले राजनीतिक दलको नेतृत्व तहमा युवा तथा विषय विज्ञलाई अघि बढाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका कर्णले विश्वमा युवाहरूले नयाँ प्रविधिको विकास गर्दै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। त्यसैगरी नेपालको राजनीतिक नेतृत्वमा पनि युवाको सहभागिता बढाउन आवश्यक रहेको उनको भनाइ छ।बुधबार भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कर्णले देशको नेतृत्वमा युवा पुस्ता अघि बढिरहेको अवस्थामा राजनीतिक दलभित्र पनि युवालाई नेतृत्वको अवसर दिनुपर्ने बताए।
पेशाले इन्जिनियर रहेका कर्णले युवालाई नेतृत्वमा ल्याउने उद्देश्यसहित आफूले उपसभापति पदमा उम्मेदवारी दिएको स्पष्ट पारे।राष्ट्रिय सभा सदस्यसमेत रहेका कर्ण २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाका सदस्य थिए। उनी नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत हुन्। कांग्रेसको १४औँ महाधिवेशनमा उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका थिए।कर्णले युवाको नेतृत्व विकासका लागि आफू प्रत्यक्ष रूपमा पार्टीको उपसभापति पदमा प्रतिस्पर्धामा उत्रिएको बताए।