काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्राको सुखद् अन्त्य गरेका छन्।
ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा बेनिनविरुद्ध भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ३–० को जित निकाल्दा मेसीले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो अन्तिम खेललाई विशेष बनाए। अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ४८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि निको पाजले ६१औँ मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए। खेलको ७१औँ मिनेटमा मेसीले पेनाल्टीबाट गोल गरेपछि अर्जेन्टिनाले ३–० को जित सुनिश्चित गर्यो।
मेसीको यो अन्तर्राष्ट्रिय फुटबलमा १२६औँ गोल हो। उनले अर्जेन्टिनाका लागि कुल २०८ खेल खेल्दै १२६ गोल गरेका छन्। यससँगै उनी अर्जेन्टिनाको राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता बनेका छन्। अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा विशेष बिदाइ कार्यक्रमसहित खेल आयोजना गरेको थियो। ‘लास्ट ट्याङ्गो’ नाम दिइएको उक्त खेल मेसीको राष्ट्रिय टोलीबाट २०८औँ तथा अन्तिम खेल बनेको हो।
मेसीको बिदाइलाई विशेष बनाउन एडिडासले उनको ब्रान्ड लोगो अंकित विशेष जर्सीसमेत तयार पारेको थियो। खेलपछि म्याच रेफ्रीले मेसीलाई रातो र पहेँलो कार्ड हस्तान्तरण गर्दै सम्मान गरेका थिए भने रंगशालाको स्क्रिनमा उनको लामो फुटबल यात्राका महत्वपूर्ण क्षणहरू समेटिएको भिडियो प्रदर्शन गरिएको थियो। विदाइका क्रममा मेसीले अर्जेन्टिनाका लागि आफूले सधैँ सक्दो योगदान दिएको बताउँदै राष्ट्रिय टोलीको यात्रालाई शान्त मनले अन्त्य गर्न पाएको भाव व्यक्त गरे। घरेलु समर्थकले भरिएको मोनुमेन्टल स्टेडियममा अन्तिमपटक अर्जेन्टिनाको जर्सीमा देखिएका मेसीको बिदाइको क्षण भावुक बनेको थियो।
सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेसीले दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय यात्रामा टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन्। उनको नेतृत्वमा अर्जेन्टिनाले २०२१ मा कोपा अमेरिका, २०२२ मा फिनालिसिमा तथा कतार विश्वकप जितेको थियो। यससँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेसीको दुई दशक लामो अन्तर्राष्ट्रिय यात्रा औपचारिक रूपमा टुंगिएको छ।