काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदका लागि विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसले यसै महाधिवेशनबाट पहिलोपटक सिर्जना गरेको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गर्ने शर्मा पहिलो व्यक्ति बनेका छन्।नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाका क्रममा शर्माले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। उनको तर्फबाट पुष्पराज पौडेल निर्वाचन कार्यालय पुगेर मनोनयनपत्र दर्ता गराएका थिए।कांग्रेसले १५औँ महाधिवेशनअघि विधान संशोधन गर्दै वरिष्ठ उपसभापति पदको नयाँ व्यवस्था गरेको हो। संशोधित विधानअनुसार यसपटकबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा वरिष्ठ उपसभापतिको पद रहनेछ।
शर्मा यसअघि विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए। त्यसअघि १४औँ महाधिवेशनबाट उनी महामन्त्री बनेका थिए। अहिले पार्टीको नयाँ संरचनाअनुसार उनले वरिष्ठ उपसभापति पदमा प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएका हुन्।वरिष्ठ उपसभापति पदमा शर्माबाहेक अन्य आकांक्षीले उम्मेदवारी दर्ता नगरेको अवस्थामा उनी यो पदका लागि पहिलो उम्मेदवार बनेका हुन्। यसैबीच कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति, उपसभापति, महामन्त्रीलगायत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ।