काठमाडौं ।अजय देवगन अभिनीत बलिउड फिल्म ‘दृश्यम ३’ ले प्रदर्शनको सुरुवाती दिनमै बक्स अफिसमा बलियो प्रभाव देखाएको छ।
फिल्मको विश्वव्यापी ग्रस कलेक्सन ३०० करोड भारतीय रुपैयाँभन्दा माथि पुगेको छ।शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो तीन दिन उत्कृष्ट व्यापार गरेपछि चौथो दिन अर्थात् सोमबार पनि राम्रो कमाइ कायम राखेको छ। कार्यदिन भएकाले सोमबार अघिल्ला दिनको तुलनामा व्यापार केही घटे पनि फिल्मको प्रदर्शन सन्तोषजनक रहेको बताइएको छ।सोमबार भारतमा फिल्मले करिब २१ करोड रुपैयाँ नेट कमाएको छ। यसअघि आइतबार मात्रै फिल्मले ६१ करोड रुपैयाँको व्यापार गरेको थियो। सोमबारको कमाइ आइतबारको तुलनामा करिब ६५ प्रतिशत कम हो।चार दिनको व्यापारपछि भारतमा फिल्मको नेट कलेक्सन १९७।५० करोड रुपैयाँ पुगेको छ भने घरेलु ग्रस कलेक्सन २३७ करोड रुपैयाँ पुगेको छ। विदेशबाट प्राप्त करिब ५ करोड रुपैयाँसमेत जोड्दा यसको विश्वव्यापी ग्रस कमाइ ३०३ करोड रुपैयाँ पुगेको छ।
फिल्मले पहिलो दिन नै ६२ करोड रुपैयाँको ओपनिङ गरेको थियो। त्यसपछि शनिबार ५३।५० करोड र आइतबार ६१ करोड रुपैयाँ कमाएको बताइएको छ। यससँगै ‘दृश्यम ३’ सन् २०२६ को सर्वाधिक कमाइ गर्ने ओपनिङ विकेन्ड फिल्ममध्ये एक बनेको छ।फिल्मले मोहनलाल अभिनीत मूल मलयालम संस्करण ‘दृश्यम ३’ को २३७।७० करोड रुपैयाँको लाइफटाइम विश्वव्यापी कलेक्सनसमेत पार गरिसकेको छ।अभिषेक पाठक निर्देशित फिल्ममा अजय देवगनसँगै तब्बु, श्रिया सरन, रजत कपुर र इशिता दत्ता पुरानै भूमिकामा देखिएका छन्। जयदीप अहलावत र प्रकाश राज भने नयाँ पात्रका रूपमा फिल्ममा जोडिएका छन्।
फिल्मको अबको व्यापारले अजय देवगनको सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्डसमेत तोड्ने सम्भावना देखिएको छ। हाल उनको सबैभन्दा बढी कमाउने फिल्म ‘तान्हाजी द अनसङ वारियर’ हो, जसको कुल कलेक्सन ३६१ करोड रुपैयाँ रहेको बताइएको छ।